+

होन्डुरसमा नरसंहार, १९ जनाको मृत्यु

८ जेष्ठ २०८३, शुक्रबार १६:५४

टेगुसिगाल्पा । उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको पाम बगानमा भएको भीषण सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएपछि देश फेरि सङ्गठित अपराध र गिरोह हिंसाको चपेटामा परेको छ । प्रतिद्वन्द्वी सशस्त्र समूहबीच पाम बगान र लागुऔषध तस्करी मार्गको नियन्त्रणलाई लिएर चर्किएको द्वन्द्वबीच भएको यो नरसंहारले होन्डुरसको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

अधिकारीहरूका अनुसार हत्या बुधबार राति रिगोर्स क्षेत्रमा भएको थियो । उक्त क्षेत्र लामो समयदेखि लागुऔषध तस्कर समूह, सशस्त्र गिरोह र भूमि नियन्त्रणको हिंसात्मक सङ्घर्षका कारण तनावग्रस्त मानिन्छ । स्थानीय बासिन्दाहरूले रातभरि निरन्तर गोलीबारीको आवाज सुनेको बताएका छन् ।

होन्डुरसको राष्ट्रिय विधायिकाले देशमा बढ्दो आपराधिक हिंसा नियन्त्रण गर्न कडा सुरक्षा सुधारहरू पारित गरेलगत्तै यो घटना सार्वजनिक भएको हो । नयाँ कानूनी व्यवस्थाअन्तर्गत सेनालाई सार्वजनिक सुरक्षासम्बन्धी कार्यमा प्रत्यक्ष सहभागी गराउने तथा सङ्गठित अपराध नियन्त्रणका लागि नयाँ विशेष एकाइ गठन गर्ने अधिकार दिइएको छ । साथै गिरोह र लागुऔषध कार्टेललाई आतङ्कवादी समूहका रूपमा वर्गीकृत गर्ने बाटो पनि खुला गरिएको छ ।

होन्डुरसका नयाँ कन्जरभेटिभ राष्ट्रपति नास्री असफुराले ल्याटिन अमेरिकामा सङ्गठित अपराधविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएको कडा सुरक्षा अभियानसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बिहीबारकै अर्को हिंसात्मक घटनामा ग्वाटेमालाको सीमाक्षेत्र नजिक एक विशेष गिरोहविरोधी टोलीले लागुऔषध तस्करको घरमा छापा मार्ने प्रयास गर्दा भीषण गोली हानाहान भएको थियो । त्यस क्रममा चार सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय प्रहरीका अनुसार घटनास्थलबाट सबै शव अझै निकाल्न नसकिएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

अगुआन उपत्यकामा मारिएका अधिकांश व्यक्ति पाम बगानमा काम गर्ने किसान रहेको स्थानीय ग्रामीण समूहका एक नेताले बताए । सुरक्षा संवेदनशीलताका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका ती नेताका अनुसार उक्त क्षेत्रका बासिन्दाहरू लामो समयदेखि सशस्त्र समूहको धम्की र त्रासमा बाँचिरहेका छन् । उनले स्थानीय अवस्था वर्णन गर्दै मानिसहरू ‘एउटा आँखा खोलेर र अर्को बन्द गरेर सुत्न बाध्य’ भएको बताए ।

स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका भिडियोहरूमा विशाल पाम बगानभित्र छरिएका र रगतले लतपतिएका शवहरू देखिएका छन् । भिडियोमा कम्तीमा नौ शव खुलेआम खेतभित्र फालिएको अवस्थामा देखाइएको थियो ।

होन्डुरसका सुरक्षामन्त्री गर्जोन भेलास्केजले पत्रकारहरूसँग कुरा गर्दै घटनास्थलको दृश्यलाई अत्यन्तै भयावह र नरकजस्तै अवस्था भएको संज्ञा दिए । उनका अनुसार धेरै व्यक्तिलाई उच्च क्षमताका हतियार, सम्भवतः राइफल र सटगन प्रयोग गरेर हत्या गरिएको देखिन्छ ।

पछि अभियोजक कार्यालयकी प्रवक्ता युरी मोराले स्थानीय टेलिभिजनसँग कुरा गर्दै अनुसन्धान टोलीहरूले एउटा क्षेत्रमा १३ शव र अर्को क्षेत्रमा थप छ शव फेला पारेको जानकारी दिए ।

सुरक्षामन्त्री भेलास्केजले बाजो अगुआन क्षेत्र धेरै वर्षदेखि लागुऔषध तस्करी, पाम तेल कारोबार र सशस्त्र समूहको प्रभावका कारण हिंसात्मक द्वन्द्वमा फसेको बताए । उनका अनुसार घटनाको स्पष्ट कारण अझै नखुले पनि यसको सम्बन्ध आपराधिक सञ्जालसँग जोडिएको देखिन्छ ।

नजिकैको ट्रुजिलो क्षेत्रका प्रहरी प्रमुख कार्लोस रोजासले स्थानीय सञ्चारमाध्यमलाई विभिन्न गिरोहहरूले ठूला अफ्रिकी पाम बगानहरू कब्जा गरी अवैध रूपमा सञ्चालन गर्दै आएको जानकारी दिए । उनका अनुसार त्यही बालीबाट प्राप्त आम्दानी प्रयोग गरेर सशस्त्र समूहहरूले हतियार खरिद गर्ने गरेका छन् ।

यद्यपि स्थानीय किसान सङ्गठनहरूले भने अन्तर्राष्ट्रिय कृषि व्यवसाय कम्पनीहरूलाई समेत दोष दिएका छन् । ती समूहहरूले बहुराष्ट्रिय कृषि निगमहरूले आपराधिक समूहलाई संरक्षण दिएको र स्थानीय बासिन्दालाई विवादित जमिन पुनः प्राप्त गर्न नदिएको आरोप लगाएका छन् ।

यसबीच एक वरिष्ठ सरकारी अनुसन्धान अधिकारीले नाम नखुलाउने सर्तमा घटनालाई केवल भूमि विवादका रूपमा व्याख्या गर्न नमिल्ने बताए । उनका अनुसार यो नरसंहार प्रत्यक्ष रूपमा लागुऔषध तस्करीसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।