+

तीन प्रदेशमा बदली र वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावाको जोखिम

११ जेष्ठ २०८३, सोमबार ०७:०१

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा बादल लागेको छ भने तराईका क्षेत्रहरू मुख्यतया सफा रहेका छन्।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने देखिन्छ। मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली भए पनि बाँकी तराई क्षेत्रमा मौसम सफा रहनेछ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा भने दिन तातो हुने र तराई क्षेत्रमा तातो लहर (लू) चल्न सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशको मौसमी प्रणालीमा खासै परिवर्तन आउने छैन। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि तराईमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।