काठमाडौं। गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन्।
नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन्। मापसेका कारण सवारी दुर्घटनाको जोखिम लगातार बढ्दै गएको भन्दै प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष आग्रह गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा ३७ वटा सवारी दुर्घटना भएका छन्, जसमा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन्।
प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा ३५ दुर्घटनामा दुई जनाको मृत्यु र ५३ जना घाइते भएका छन् भने मधेस प्रदेशमा २० वटा दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। यसैगरी बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु र तीन जना घाइते भएका छन्।
लुम्बिनी प्रदेशमा भएका नौ वटा दुर्घटनामा तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन्। उता कर्णाली र सुदूरपश्चिम प्रदेशमा तीन-तीन वटा दुर्घटना भएका छन्, जसमा क्रमशः तीन जना र चार जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रवक्ता काफ्लेले विशेषगरी रातिको समय, सार्वजनिक बिदा तथा विभिन्न चाडपर्व र उत्सवका बेला मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढी देखिने गरेको जानकारी दिए। मापसे गरेर सवारी चलाउनु गम्भीर कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि समेत अत्यन्तै जोखिमपूर्ण कार्य भएको उनको भनाइ छ।
मादक पदार्थ सेवन गरेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रण गर्न कठिन हुने र तीव्र गतिमा सवारी कुदाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको जोखिम अत्यधिक रहने गर्दछ।
पछिल्लो समय ट्राफिक प्रहरीले देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी र कडा बनाएको छ।
विशेषगरी सहरी क्षेत्र, राजमार्ग, व्यस्त चोकहरू र रात्रिकालीन समयमा चेकिङ तीव्र पारिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मापसे गर्ने चालकहरूलाई कानुन बमोजिम कारबाही गर्नुका साथै सचेतनामूलक कार्यक्रमहरू पनि सँगसँगै अघि बढाइएको बताए।
उनले सुरक्षित यात्राका लागि सम्पूर्ण चालक तथा सर्वसाधारणलाई जिम्मेवार बन्न र सवारी चलाउँदा पूर्ण सतर्कता अपनाउन अपिल गरेका छन्।


