+

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

११ जेष्ठ २०८३, सोमबार १०:४९

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। अमेरिकी डलर कमजोर हुनुका साथै कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित हुँदा बहुमूल्य धातुको माग र मूल्य दुवै बढेको हो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.७९ प्रतिशत (३६.३२ डलर) ले बढेर प्रतिऔंस ४ हजार ५६१ अमेरिकी डलर पुगेको छ। डलरको मूल्य कमजोर बन्दा अन्य मुद्रामा कारोबार गर्ने विश्वभरका लगानीकर्ताका लागि सुन खरिद सस्तो हुन जाने भएकाले यसको मागमा वृद्धि भएको बजार विश्लेषकहरूको भनाइ छ।

कच्चा तेलको मूल्य घट्दा विश्व बजारमा मुद्रास्फीति (महँगी) को दबाब कम हुने अपेक्षाले पनि सुनको मूल्यलाई बल पुर्‍याएको छ। पछिल्लो समय अमेरिका र इरानबीचको शान्ति वार्तामा सकारात्मक प्रगतिको संकेत देखिएपछि विश्व बजारमा नयाँ आशावाद सञ्चार भएको छ। यस वार्ताले तेल आपूर्तिको रणनीतिक मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ पुनः पूर्ण रूपमा खुल्ने सम्भावना बढाएकाले कच्चा तेलको मूल्य ओरालो लागेको हो।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै कुनै औपचारिक सम्झौता भइ नहाल्ने प्रष्ट पारेका कारण बजारमा अझै पनि केही अनिश्चितता भने कायम छ। विश्लेषकहरूका अनुसार तेलको मूल्य घट्दा महँगी नियन्त्रणमा सघाउ पुग्ने देखिए पनि अमेरिकी केन्द्रीय बैंकले उच्च ब्याजदरलाई निरन्तरता दिन सक्ने सम्भावनाले सुनको यो मूल्य वृद्धिलाई केही हदसम्म सीमित भने गर्न सक्छ।

सुनसँगै अन्तर्राष्ट्रिय बजारमा सोमबार चाँदीको मूल्यमा पनि तीव्र वृद्धि दर्ता भएको छ। चाँदीको मूल्य २.३४ प्रतिशत (१.८६ डलर) को ठूलो अंकले बढेर प्रतिऔंस ७७.७ अमेरिकी डलर कायम भएको छ । भूराजनीतिक हलचल र मुद्रा बजारको उतारचढावका कारण आगामी दिनमा पनि बहुमूल्य धातुको बजार थप अस्थिर रहने अनुमान गरिएको छ।