नयाँ दिल्ली । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्यतर्फ लक्षित सम्झौता अझै पनि ९सोमबार० सम्भव रहेको संकेत दिँदै वार्ताबाट सकारात्मक परिणाम निस्किन सक्ने विश्वास व्यक्त गरेका छन् ।
उनले सम्भावित सहमतिले क्षेत्रीय सामुद्रिक मार्ग खुला राख्ने तथा खाडी क्षेत्रमा स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा पनि राखे । भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले सम्भावित सम्झौताबारे अपेक्षा जीवित रहेको स्पष्ट पारे ।
उनका अनुसार अमेरिकी पक्षले आइतबार रातिसम्म कुनै प्रगति हुने अनुमान गरेको थियो, तर समय लम्बिँदैमा निष्कर्ष निकाल्न नहुने अवस्था रहेको छ । “हामीले हिजो रातिसम्म केही समाचार आउला भन्ने सोचेका थियौँ, सायद आज पनि आउन सक्छ, म यसलाई धेरै अर्थपूर्ण ढङ्गले हेर्दिनँ”, उनले भने ।
रुबियोले वार्ताको केन्द्रमा समुद्री मार्गहरूको सञ्चालन र सुरक्षा रहेको सङ्केत गर्दै यस विषयमा टेबलमा पर्याप्त ठोस प्रस्तावहरू रहेको बताए । भारतीय राजधानीबाट प्रस्थानको तयारीका क्रममा उनले पत्रकारहरूसँग कुरा गर्दै खाडी क्षेत्रका धेरै मुलुकले प्रस्तावित पहललाई समर्थन गरेको दाबी गरे ।
उनका अनुसार अमेरिका भ्रमण वा संवादका क्रममा सम्पर्कमा आएका अधिकांश देशहरूले यो पहललाई केवल व्यावहारिक मात्र नभई विश्वका लागि आवश्यक कदमका रूपमा बुझेका छन् ।
रुबियोले इरानले आणविक कार्यक्रमसम्बन्धी विषयमा गम्भीर, अर्थपूर्ण र निश्चित समयसीमाभित्र हुने वार्तामा सहभागी हुने विश्वास पनि व्यक्त गरे । भारत भ्रमणको अर्को चरणअन्तर्गत उनी उत्तर भारतीय सहर आगरा पुग्ने कार्यक्रम रहेको थियो । आगरामा ताजमहल अवस्थित छ ।
रुबियोको अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएपछि आएको हो । ट्रम्पको उक्त भनाइलाई सम्भावित सम्झौताबारे बढेको अपेक्षा केही संयमित बनाउने प्रयासका रूपमा हेरिएको छ ।
राष्ट्रपति ट्रम्पको वार्ता रणनीतिबारे टिप्पणी गर्दै रुबियोले उनी कुनै पनि हालतमा कमजोर वा असन्तुलित सम्झौतामा सहमत नहुने बताए । “उहाँ हतारमा हुनुहुन्न, उहाँले नराम्रो सम्झौता गर्नुहुने छैन र राष्ट्रपतिले नराम्रो सम्झौता स्वीकार गर्नुहुने छैन”, रुबियोले भने ।
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इस्लामिक गणतन्त्र इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्वमा तनाव चुलिएको थियो । त्यसको प्रत्युत्तरमा इरानले क्षेत्रका विभिन्न भागमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । त्यसयता वासिङ्टन र तेहरान अप्रिल ८ देखि युद्धविरामको पालनामा रहेको जनाइएको छ ।
क्षेत्रीय सुरक्षाबारे आफ्नो धारणा राख्दै रुबियोले इजरायललाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार सधैँ रहने बताए । उनका अनुसार यदि हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गर्ने वा त्यस्तो आक्रमणको तयारी गर्ने अवस्था सिर्जना हुन्छ भने इजरायलसँग त्यसको प्रतिकार गर्ने वा सम्भावित आक्रमण रोक्ने अधिकार रहन्छ ।
“इजरायललाई सधैँ आफ्नो रक्षा गर्ने अधिकार छ”, उनले भने, “यदि हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गर्न लागेको छ भने इजरायललाई जवाफ दिने वा त्यसलाई रोक्ने पूर्ण अधिकार हुन्छ र यो कुरा युद्धविरामको अवधिमा पनि बुझिएको विषय हो ।” एजेन्सी


