उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ।
गत चार दिनदेखि परिवारको सम्पर्क बाहिर रहेर हराइरहेकी लिम्बूको शव मंगलबार बिहान स्थानीय बासिन्दाले गाईबस्तु चराउने क्रममा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीको विशेष टोली घटनास्थलमा पुगेर कानुनी मुचुल्का तयार पार्नुका साथै घटनाको विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार फेला परेको शव सडेर फुलिएको अवस्थामा फेला परेको थियो। मृतकको अनुहार चिन्न नसकिने अवस्थामा भए पनि उनले लगाएको कपडाका आधारमा उनका श्रीमान्ले शव सविताकै भएको पहिचान गरेका हुन्।
प्रहरीले प्रारम्भिक रूपमा घटनाको वास्तविक कारण र मृत्युको प्रकृति खुल्न बाँकी रहेको जनाएको छ। हाल शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षण (पोस्टमार्टम) का लागि अस्पताल पठाउने तयारी भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने प्रहरीले बताएको छ।


