+

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

१२ जेष्ठ २०८३, मंगलवार १८:२०

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन्। कन्सुलर सेवा विभागले आज यहाँ आयोजना गरेको ‘मोफा मित्र’ मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिकमैत्री बनाउन उक्त एप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

“विदेशमा काम गर्न जानेहरू गएको देशका नियम, कानुनका विषयमा जानकारी नहुने भएकाले कन्सुलर सेवाको काम बढेको छ,” उनले भने, “विदेशमा रहेकाका आफन्तलाई कुनै जानकारी दिन पनि यो सेवा सहयोगी हुने छ।”

यो सेवा ७७ वटै जिल्ला प्रशासन कार्यालय, विदेशस्थित सबै कूटनीतिक नियोगमा पनि पुगिसकेको छ। कानुनी सेवा अहिले ५०० स्थानीय तहमा पुगिसकेको जानकारी पनि कार्यक्रममा गराइएको थियो। आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताए।

‘मोफा मित्र’ मोबाइल एपबाट सहजरूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसबाट सम्बन्धित नियोगबाट थप सहयोग लिन सकिने व्यवस्था एपमा गरिएको छ। प्रविधिमार्फत् सेवाको पहुँच बढाउने लक्ष्यअनुसार सुरु गरिएको सेवामा प्रविधिमा विकास आएसँगै विस्तार गर्दै जाने पनि उनको प्रतिबद्धता छ।

अनौपचारिक रूपमा भारतमा रहेका नेपाली बाहेक विधिवत् रूपमै ५० लाख नेपाली विभिन्न सेवामा विदेशिएका छन्। अप्ठ्यारो परेका विषयमा मोबाइल एप डाउनलोड गरेर गुनासो पनि राख्न सकिने छ।

विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीको हक हितको संरक्षण र अप्ठ्यारो परेका बेला सहयोग लिन एप प्रयोग हुने बताउनुभयो। एप र मोबाइल प्रणालीमा लिङ्क गरिएको पनि उनले सुनाए। शव व्यवस्थापन, क्षतिपूर्ति, बीमा दावीलगायत विषयका लागि एपबाट सहज हुने विश्वास गरिएको छ। विदेश जाने नेपालीको सङ्ख्या बढिरहेकाले यो एप प्रभावकारी हुनेछ।

विभागका सूचना प्रविधि अधिकृत नवीनकुमार झाले विदेशमा भएका नेपाली नागरिक लक्षित मोबाइल एप आएको बताउनुभयो। यसबाट सोधपुछ, उद्धार, गुनासो, शव व्यवस्थापनलगायत सेवा लिन सकिने बताए। मोबाइल एपबाट अपडेट गरेपछि सेवा लिनुपर्ने सम्बन्धित नियोगमै जाने गरी व्यवस्था मिलाइएको पनि सूचना प्रविधि अधिकृत झाले बताए। एपबाट निवेदन गरेपछि के के हुन्छ, मोबाइलबाट हेर्न सकिने गरी व्यवस्था गरिएको छ।