काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित WWICS Immigration Services Nepal Pvt. Ltd. का संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने भारत पंजाव मोहाली घर भएका २६ वर्षीय अमित कुमार र काठमाडौं महानगरपालिका-३ बस्ने भारत हरियाणा फरिदावाद घर भएका ३९ वर्षीय राहुल कुमार, काठमाडौं तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका-६ घर भएकी २७ वर्षीया मुस्कान घिमिरे, ललितपुर, ललितपुर महानगरपालिका-२३ बस्ने मकवानपुर बकैया गाउँपालिका-९ घर भएका ३९ वर्षीय जनक बहादुर वाईबा, ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने सुनसरी रामधुनी नगरपालिका-५ घर भएका २७ वर्षीय मिलन घिमिरे, काठमाडौं महानगरपालिका-१५ बस्ने मोरङ बेलबारी नगरपालिका-३ घर भएका २७ वर्षीय कमल थापा र काठमाडौं महानगरपालिका-७ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएकी ४० वर्षीया नितु घिमिरे रहेका छन् ।
पक्राउ मध्ये अमित र राहुलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रूपैयाँ, मुस्कानले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, जनकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, मिलनले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ३५ हजार रूपैयाँ, कमलले बेलायत, रोमानिया लगायतका देशहरू फटाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख ५० हजार रूपैयाँ र नितुले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमित र राहुललाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, मुस्कानलाई टोखा नगरपालिका-३ बाट, जनकलाई ललितपुर महानगरपालिका-२३ बाट र मिलनलाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट आइतबार तथा कमललाई काठमाडौं नागार्जुन नगरपालिका-१ बाट र नितुलाई काठमाडौं महानगरपालिका-७ बाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


