+

अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

१६ जेष्ठ २०८३, शनिबार १३:०८

काठमाडौँ । आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ ।

यो दिवसले आलु उत्पादन, वितरण तथा उपभोगसँग जोडिएका किसानदेखि मूल्य शृङ्खलासम्मका सबै सरोकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि–खाद्य प्रणाली प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । आलु, वैज्ञानिक नाम सोलानम ट्युबेरोसम हो । विश्वका अर्बौं मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बालीमध्ये एक हो ।

एफएओका अनुसार आलु विश्वका १५९ देशमा खेती गरिन्छ भने यसको करिब ५ हजार प्रजातिहरू विश्वभर पाइन्छन् । करिब ८ हजार वर्षदेखि मानव सभ्यतासँग जोडिएको यो बाली आज पनि उत्तिकै महत्वपूर्ण खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ ।

उच्च पहाडी क्षेत्रदेखि समथर भू–भागसम्म विविध कृषि प्रणालीमा खेती गरिने आलुले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यसको उत्पादनले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरणमा सहयोग पुर्याएको छ ।

साना किसानदेखि ठूला व्यावसायिक कृषि फार्मसम्म फैलिएको यस बालीले विश्वका विभिन्न महादेशमा आर्थिक गतिविधि चलायमान बनाएको छ । यस दिवसले सन् २००८ मा मनाइएको अन्तरराष्ट्रिय आलु वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलु बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ ।

विशेषगरी साना पारिवारिक किसान, जसमध्ये उल्लेख्य सङ्ख्या महिला किसानको रहेको छ, उनीहरूले आलुको विविध प्रजाति संरक्षण र प्रवद्र्धनमा खेलेको भूमिकालाई पनि यस अवसरमा सम्मान गरिनेछ ।

त्यसैगरी, आलुको सांस्कृतिक तथा पाक परम्परासँग जोडिएको विविधतालाई पनि विश्वव्यापी रूपमा मनाइने यो दिवसले उजागर गर्ने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसङ्घले बढ्दो भोकमरी, गरिबी र जलवायु परिवर्तनजस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलुजस्ता बालीको योगदान महत्वपूर्ण हुने जनाएको छ ।