+

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

१७ जेष्ठ २०८३, आईतवार ०६:३५

काठमाडौं । आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आइतबार राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ।

सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।