+

अर्थमन्त्रीको दाबी : बजेट ठुलो र महत्त्वाकाङ्क्षी छैन, कुल ग्राहस्थ उत्पादनको तुलनामा सानो छ

१७ जेष्ठ २०८३, आईतवार १६:०९

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्त्वाकांक्षी नभएको बताएका छन् ।

आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटलाई कुल गार्हस्थ उत्पादन अनुपातसँग तुलना गरेर हेर्नुपर्ने बताए ।

विगतमा कुल गार्हस्थ उत्पादनका आधारमा ३७ प्रतिशत बराबरसम्मको बजेट आकार आएको उल्लेख गर्दै उनले यो पटक प्रक्षेपित बजेटको २८.५ प्रतिशत हाराहारी मात्रै बजेटको आकार रहेको उल्लेख गरे ।

‘अहिले जुन हल्ला फैलिएको छ कि बजेट ठूलो आयो, होइन बजेट सानो हो, प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्बको सापेक्षतामा २८.५ प्रतिशत बराबर बजेट आएको छ’ उनले भने ।

भूकम्पपछिका बजेट जीडीको ३० प्रतिशतमाथि आउने गरेकोमा अहिले त्यो ट्रेन्ड भत्काइएको उनको भनाइ छ ।

अहिले मुलुकको ऋण आकार जीडीपीको ४३ प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले यो पटक ४ खर्ब १० अर्ब आन्तरिक ऋण र २ खर्ब ४७ अर्ब वाह्य ऋणको लक्ष्य लिइएको बताए ।