काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् खपत बढाउन र मध्यम वर्गीय परिवारलाई राहत दिन महसुलमा छुटको घोषणा गरेको बताएका छन्।
आइतबार अर्थ मन्त्रलयमा पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले विद्युत् महसुल समायोजनको गणितीय हिसाब प्रस्ट पारेका हुन्।
उनका अनुसार २० युनिटसम्म विद्युत् खपत गर्नेलाई पूर्ण रूपमा निःशुल्क गरिएको छ भने ५० युनिटसम्म खपत गर्नेलाई कुनै कर लाग्ने छैन।
“५१ देखि १५० युनिटसम्म विद्युत् खपत गर्ने करिब १२ लाख सहरी वा अर्धसहरी घरधुरी छन्, जसले पानी तान्ने पम्प वा सामान्य विद्युतीय उपकरण प्रयोग गर्छन् । उनीहरूको बिलमा ५ प्रतिशत भ्याट घटाउँदा मासिक करिब २४ रुपैयाँ राहत मिल्नेछ,“ अर्थमन्त्रीले भने।
त्यसैगरी, १५१ देखि २५० युनिटसम्म खपत गर्ने करिब २ लाख घरधुरीलाई लक्षित गरी थप सहुलियत दिइएको छ। “यस वर्गमा ठुला घर भएका र विद्युतीय सवारी फास्ट चार्ज गर्नेहरू पर्छन् । उनीहरूलाई मासिक २५ देखि १०० रुपैयाँसम्म महसुल छुट हुनेछ,“ उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले नेपालको ऊर्जा क्षेत्र (उत्पादन, प्रसारण र वितरण) को समग्र विकासका लागि आगामी बजेटमा ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए।


