काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि गरिएको स्पष्ट पारेका छन् । तलब वृद्धिको विषयलाई लिएर सरकारले कर्मचारीलाई ढाँटेको वा झुक्याएको भन्ने गुनासो बाहिर आएपछि अर्थमन्त्री वाग्लेले त्यसको खण्डन गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीले भने,‘तलब वृद्धि २१ प्रतिशत नै हो है, यसमा डाउट नहोस् । बाहिर सरकारले ढाँट्यो कि क्या हो, झुक्यायो भन्ने कुरा उठिरहेको छ । त्यस्तो हुँदैन ।’
उनले तलब वृद्धिको गणितीय हिसाब प्रस्ट पार्दै १० प्रतिशत आधार तलब (बेस) मा बढेको र अर्को १० प्रतिशत कार्यसम्पादनसँग जोडिने गरी बढाइएको बताए । यसका साथै विगतदेखि दिइँदै आएको ५ हजार रुपैयाँ महँगी भत्तालाई पनि निरन्तरता दिइएको उनले जानकारी दिए ।
रुटीन कामलाई ‘मिसन मोड’मा लैजान प्रोत्साहन
अर्थमन्त्री वाग्लेले नेपालको कर्मचारी तन्त्रले चुनाव, ठुला सम्मेलन र विपद् उद्धार जस्ता मिसन मोडका कामहरू अत्यन्तै उत्कृष्ट ढङ्गले गर्ने तर दैनिक सेवा प्रवाहमा भने कमजोर देखिएको बताए ।
सरकारी अड्डा अदालतमा ढिलासुस्ती र भ्रष्टाचारको जनगुनासो रहेको भन्दै उनले यही दैनिक सेवा प्रवाहलाई पनि ’मिसन मोड’ मा रूपान्तरण गर्न कर्मचारीलाई प्रोत्साहन गरिएको प्रस्ट पारे ।
‘कर्मचारी तन्त्रले मिसन मोडका काम गज्जबले गर्छ । तर रुटीन डेलिभरीमा काम भएन । त्यसैले हामीले सम्पूर्ण संयन्त्रलाई मिसन मोडतिर लाँदैछौँ,‘उनले भने,‘त्यसका लागि एकातिर जवाफदेहिता तय गर्ने र अर्कोतिर इन्सेन्टिभाइज गर्ने नीति लिएका हौँ ।’
अहिले सबैलाई एकमुष्ट तलब बढाइएको भए पनि आगामी दिनमा यसलाई कार्यसम्पादनको आधारमा मापन गर्न सकिने गरी सुधार गर्दै लैजाने र प्रोत्साहन भत्ता साँच्चिकै कार्यसम्पादनकै आधारमा दिइने व्यवस्था लागू गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए ।


