+

महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जना मृत फेला

१८ जेष्ठ २०८३, सोमबार १३:४५

अमरगढी (डडेल्धुरा)। डडेल्धुराको परशुराम नगरपालिका-५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका दुई जना आज मृत अवस्थामा फेला परेका छन्।

मृत फेला पर्नेहरूमा सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार थापाको शव परशुराम नगरपालिका-५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा तैरिरहेको अवस्थामा फेला परेको हो।

यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको छ। नदीले बगाएर उनको शव ब्रह्मदेव क्षेत्रमा पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ।

मामाभान्जा नाता पर्ने यी दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। सोही आधारमा उनीहरू नदीमा बगेको हुनसक्ने आशंका गर्दै खोजी अभियान सञ्चालन गरिएको थियो। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।