+

तोलामा २१ सयले घट्यो सुनको मूल्य

२२ जेष्ठ २०८३, शुक्रबार ११:२५

काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले ओरालो लागेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेको छ।

यस गिरावटसँगै बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच हजार २३० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि हिजो बिहीबार बजारमा सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २८५ रुपैयाँ रहेको थियो।

त्यस्तै, गत बुधबार सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको थियो, जसको तुलनामा आजको मूल्य निकै सस्तिएको देखिन्छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नेपाली बजारमा देखिएको यो उतारचढाव विश्व बजारकै प्रभाव हो, जहाँ आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ४४३ अमेरिकी डलर र सेतो धातु अर्थात् चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।