+

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

२२ जेष्ठ २०८३, शुक्रबार १४:०१

जानकी (बाँके) । अत्यधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य चुनौती बढाएको छ । तापक्रम निरन्तर उकालो लागेसँगै दैनिक ज्यालादारी गर्ने मजदुर, किसान, विद्यार्थी तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ भने आम्दानी घट्नुका साथै गर्मीजन्य स्वास्थ्य समस्या बढ्न थालेका छन् ।

बैजनाथ गाउँपालिका–५ निवासी ४७ वर्षीया कमला नेपालीले भनिन्, “दैनिक हजारदेखि एक हजार २०० रुपैयाँसम्म कमाउँथेँ, तर अहिले ५०० कमाउन पनि गाह्रो छ ।” वैदेशिक रोजगारबाट फर्किएपछि विगत साढे चार वर्षदेखि रिक्सा चलाउँदै आएकी कमलाले आफू र सन्तानको खर्च रिक्साको आम्दानीबाट धान्दै आएकी छिन् । उनका अनुसार गर्मी मौसममा बिहान र साँझबाहेक यात्रु कम पाइने भएकाले आम्दानीमा उल्लेख्य कमी आएको छ ।

“गर्मीमा साँझ र बिहान मात्र यात्रु भेटिन्छन् । दिउँसो कोही पनि निस्कँदैनन्, त्यसैले कमाइ घटेको छ”, कमलाले भनिन् । घरायसी जिम्मेवारीका कारण बिहान र साँझ रिक्सा चलाउन नपाउने भएकाले दिउँसो मात्रै काम गर्नुपर्ने र त्यही समयमा यात्रु नपाइने समस्या रहेको उनको भनाइ छ ।

“सानासाना केटाकेटी छन् । बिहान खाना पकाउने, विद्यालय पुर्‍याउने र घरधन्दा गर्दा रिक्सा चलाउन भ्याइँदैन । साँझ पनि उनीहरूलाई विद्यालयबाट ल्याएपछि समय मिल्दैन । दिउँसो मात्रै रिक्सा चलाउँछु, तर गर्मीले यात्रु पाइँदैन”, उनले भनिन् ।

खजुरा गाउँपालिका–३ निवासी पार्वती थारुको आम्दानीमा पनि गर्मीले असर पुर्‍याएको छ । विगत छ वर्षदेखि टनेलखेती गर्दै आएकी उनले यस वर्षको अत्यधिक गर्मीले तरकारी उत्पादनमा ठूलो क्षति पुगेको बताइन् । “तरकारीखेती यसपटक राम्रोसँग फस्टाउन सकेन । उत्पादन कम हुँदा बिक्री पनि घट्यो”, उनले भनिन् । यस वर्ष उनले करेला र लौकाखेतीका लागि एक लाख ७० हजार लगानी गरेकी थिइन् । तर अपेक्षाअनुसार उत्पादन नभएकाले अघिल्लो वर्षको तुलनामा झण्डै ६० प्रतिशत आम्दानी घटेको उनको भनाइ छ ।

प्रत्येक याममा करिब रु पाँच लाख बराबरको तरकारी बिक्री गर्ने गरेको उल्लेख गर्दै उनले यस वर्षको गर्मीले खेतीमा अभूतपूर्व असर पारेको बताइन् । “यो वर्षजस्तो गर्मी पहिले कहिल्यै अनुभव गरेको थिइनँ । मानिस मात्र होइन, तरकारी र बोटबिरुवासमेत गर्मीले प्रभावित भए”, पार्वतीले भनिन् । उनका अनुसार पर्याप्त मलजल र स्याहारसुसार गर्दागर्दै पनि केही बिरुवा सुके भने केही कोपिलामै नष्ट भए ।

बाँकेमा अत्यधिक गर्मीका कारण विद्यार्थी पनि प्रभावित भएका छन् । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारी विद्यालयले हरेक वर्षझैँ बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म कक्षा सञ्चालन गरिरहेका छन् ।

जानकी गाउँपालिका–२ स्थित भृकुटी प्राथमिक विद्यामन्दिरकी शिक्षिका राजकुमारी सिंह ठकुरीले गर्मीका कारण विद्यार्थीलाई विद्यालयमा बस्न कठिन भइरहेको बताइन् । “पङ्खा चले पनि कक्षाकोठामा तातो हावाकै महसुस हुन्छ । विद्यार्थीमा थकान, टाउको दुख्ने, चक्कर आउने र पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेको छ”, उनले भनिन् ।

टाढाबाट पैदल हिँडेर विद्यालय आउने विद्यार्थी अझ बढी प्रभावित हुने गरेको उनको भनाइ छ । “विद्यार्थीलाई पर्याप्त पानी पिउन, टाउको छोपेरसकेसम्म घामबाट जोगिन सल्लाह दिएका छौँ । अभिभावकले पनि बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ”, उनले भनिन् । अत्यधिक गर्मीका कारण भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढेको छ ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेका अनुसार गर्मीजन्य समस्या लिएर अस्पताल आउने बिरामीको चाप अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ । “बालबालिका, बाहिर काम गर्ने युवा तथा ज्येष्ठ नागरिक बढी प्रभावित भइरहेका छन् । शरीरमा पानीको कमी, टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक थकान, वान्ता हुने तथा बेहोस हुनेजस्ता समस्या बढिरहेका छन्”, उनले भने ।

गर्मीबाट बच्न दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन र बाहिर जानै परे छाता, छाउको छोप्न तथा हलुका सुती कपडा प्रयोग गर्न डा राजनले सुझाव दिए । “तिर्खा लागेपछि मात्र होइन, नियमित रूपमा पर्याप्त पानी पिउनुपर्छ । नरिवल पानी, फलफूलको रस, जाउलो तथा अन्य झोलयुक्त खानेकुराले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ”, उनले भने । लामो समयसम्म चर्को घाममा बस्दा हिट स्ट्रोकको जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन उनले आग्रह गरे ।

डा राजनले भने, “सकेसम्म छायाँयुक्त स्थानमा बस्ने, अनावश्यक रूपमा घाममा नहिँड्ने र शरीरमा पानीको कमी हुन नदिने बानीले धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । सामान्य लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन, आवश्यक परे चिकित्सकीय परामर्श लिनुपर्छ ।”