+

अण्डाको नयाँ मूल्य निर्धारण : एक महिनामै क्रेटमा ९५ रुपैयाँसम्म वृद्धि, खुद्रा मूल्य २५ पुग्ने

२३ जेष्ठ २०८३, शनिबार ०७:०९

नारायणगढ (चितवन)। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। संघको काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आज (शनिबार) देखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श र सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानेर यो नयाँ दररेट तय गरिएको संघले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार अब एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ र मध्यम (मिडियम) अण्डाको ५१५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी तीन हजार रुपैयाँ तोकिएको छ। यो नयाँ मूल्य समायोजनसँगै अब उपभोक्ताका लागि खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुग्ने देखिएको छ। संघका अध्यक्ष विनोद पोखरेलले सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई तोकिएको यसै मूल्यमा कारोबार गर्न आग्रह गरेका छन्।

पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको तथ्यांकले देखाउँछ। गत वैशाख २४ गते प्रतिक्रेट ४६५ रुपैयाँ रहेको एक्सएल अण्डाको मूल्य अहिले ५६० रुपैयाँ पुगेको छ, जुन एक महिनामा ९५ रुपैयाँ अर्थात् करिब २० प्रतिशतको वृद्धि हो।

सोही अवधिमा ठूलो अण्डा प्रतिक्रेट ४९० बाट ५४५ रुपैयाँ, मिडियम अण्डा ४०० बाट ५१५ रुपैयाँ र सानो अण्डा प्रतिपेटी २ हजार ३०० रुपैयाँबाट बढेर तीन हजार रुपैयाँ पुगेको छ। पछिल्ला केही सातायता बजारमा अण्डाको उत्पादन घट्नु र माग भने बढ्दै जानुले मूल्यमा यस्तो सुधार आएको हो।

सङ्घका अध्यक्ष पोखरेलका अनुसार हाल अण्डाको उत्पादन लागत मात्रै प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने गरेको छ। गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा दाना र औषधिको बढ्दो महँगीले किसानको लागत उठ्न गाह्रो भइरहेका बेला यो निर्णयले केही राहत दिएको छ।

लामो समयपछि अण्डाको बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानहरू जोगिने अवस्था बनेको उहाँको भनाइ छ। पछिल्लो समय नेपालमा पर्यटकको आगमन वृद्धि हुनु, सीमा क्षेत्रमा हुने अवैध अण्डा आयातमा कडाइ गरिनु र आन्तरिक बजारको माग सुध्रिनुले पनि मूल्य वृद्धिमा बल पुर्‍याएको हो।

किसानहरूले अहिले लागत नजिकको मूल्य पाउन थाले पनि यसलाई स्थिर राख्न उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनमा सरकारी निकायको नीतिगत समर्थन आवश्यक रहेको संघले जनाएको छ। उत्पादन लागत घटाउने उपायहरू अवलम्बन गर्न सके मात्र हालको मूल्य अवस्थालाई टिकाएर किसान र उपभोक्ता दुवैलाई सन्तुलनमा राख्न सकिने अध्यक्ष पोखरेलको धारणा छ।