गण्डकी। गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिने भएको छ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको आयोजनामा बिहीबारदेखि सुरु हुने पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियानअन्तर्गत आगामी शनिबार कलकतामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो।
‘नाट्टा’ गण्डकीमा आबद्ध पर्यटन व्यवसायीसहित कलकताका पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार, सामाजिक सञ्जालका ‘सेलिब्रेटी’लगायत २२ जना सहभागि हुनेछन्।
उक्त कार्यक्रममा पर्यटन गतिविधि समेटिएको वृत्तचित्र, प्रवर्द्धनात्मक सामग्री प्रदर्शन एवं वितरण गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा नाट्टा गण्डकीका महासचिव चेतन कार्कीले जानकारी दिए।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा हवाई उडान सञ्चालनका विषयमा व्यवसायीलगायत सम्बन्धित निकायसँग छलफल तथा अन्तरक्रिया गरिने भएको छ।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले झण्डै १० करोड जनसङ्ख्या रहेको पश्चिम बङ्गालका बासिन्दालाई लक्षित गरेर कलकतामा पोखराको पर्यटन प्रवर्द्धन गर्न लागिएको बताए।
‘बिटुबी’ एवं ‘सेल्स मिसन’मा पोखराका पर्यटन व्यवसायीले आकर्षक ‘प्याकेज’सहितको भ्रमण योजना प्रस्तुत गर्ने जनाइएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भारत नेपालको पर्यटनका लागि मुख्य स्रोत बजार रहेको बताए।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली, कलकताजस्ता ठूला सहरमा हवाई उडान सेवा सञ्चालन गर्न सके गण्डकी प्रदेशको पर्यटनले नयाँ फड्को मार्ने प्रमुख लामिछानेले बताए।
नाट्टा गण्डकीले यसअघि भारतको पटना, बाराणासी, अयोध्या, गोरखपुर र सिलुगुढीमा पोखराको पर्यटन प्रवर्द्धनसँगै ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिसकेको छ।
प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्वका गन्तव्य स्थलको पहिचान गरी तिनलाई देश विदेशका पर्यटन बजारमा चिनाउन नाट्टा सक्रिय रहँदै आएको छ।


