+

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?

१ असार २०८३, सोमबार १३:५६

काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) ले गरेको अनधिकृत प्रवेश र हस्तक्षेपप्रति आपत्ति जनाएको छ । राप्रपा सांसद भरतराज गिरीले  प्रतिनिधिसभाको बैठकमा सुस्ता गाउँपालिका–५, थारु टोलमा हतियारधारी भारतीय एसएसबीका जवानहरू बिना अनुमति नेपाली भूमिमा छिरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘त्यहाँ राज्यको उपस्थिति थिएन, हाम्रा सुरक्षाकर्मी थिएनन्, केवल हाम्रा सोझा हलो जोत्ने किसानहरू थिए,’ गिरीले भने, ‘जसले आफ्नो अदम्य साहसले हतियारधारी सैनिकलाई लखेटे र प्रमाणित गरिदिए कि माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम चाहिन्छ।’

उनले सुस्तावासीको यो साहसलाई उच्च सम्मान व्यक्त गर्दै सरकारको अनुपस्थितिमा पनि देश जोगाउन उनीहरूले खेलेको भूमिकाको प्रशंसा गरे ।

सांसद गिरीले प्रधानमन्त्रीले केही समयअघि  ‘हामीले पनि भारतको सीमा मिचेका छौँ’ भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको त्यो विवादास्पद अभिव्यक्तिका कारण आज सीमामा हस्तक्षेप बढेको छ। यसले सीमामा रगत र पसिना बगाएर राष्ट्रियताको वफादारी गरिरहेका सुस्ताका वीर किसानहरूको अपमान भएको छ।’

सांसद गिरीले नेपाल–भारतबिचको करिब १५०० किलोमिटर लामो खुला सीमा क्षेत्रमा बस्ने लाखौँ नेपालीहरूको सुरक्षा र राष्ट्रिय स्वाभिमानका विषयमा सरकारको धारणा माग गरे ।

‘राष्ट्रिय स्वाभिमान केवल भाषण, दस्तावेज र नारामा सीमित हुने कुरा होइन, यो त सिमानामा उभिएर शत्रुको आँखामा आँखा जुधाई आफ्नो माटोको रक्षा गर्ने आँट हो,’ गिरीले भने ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको रक्षाका लागि नेपाली जनता लडिरहेको अवस्थामा सरकारले आगामी हरेक कूटनीतिक बैठकहरूमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ छ।