काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।
यस मौसमी प्रणालीका कारण देशको हिमाली र पहाडी भूभागसहित कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली भएको छ भने मधेश प्रदेशमा आंशिक बादल लागेको छ। अहिले कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागका साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने देखिन्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्नेछ। वर्षाको सम्भावना नरहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने आज तातो हावा चल्ने र दिन अत्यधिक तातो हुने सम्भावना रहेको छ।
रातिको समयमा देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने भए पनि अन्य तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा भने हल्का वर्षा र हिमपात हुन सक्नेछ। साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा राति पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


