+

नेपालमा यस वर्ष मनसुन भित्रिन केही दिन ढिला हुने, एलनिनोको प्रभावले वर्षा कमजोर हुन सक्ने

२ असार २०८३, मंगलवार १३:०८

काठमाडौं। नेपालमा यस वर्षको मनसुन सुरु हुन अझै केही दिन ढिला हुने भएको छ। गत वर्षको तुलनामा यस वर्ष तीन दिन ढिला भइसक्दा पनि मनसुन भित्रिन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ। तर, भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषण गर्दा यसपालि मनसुन आगमनमा केही दिन ढिलाइ हुने देखिएको छ।

हाल नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहे पनि यसलाई मनसुनी वर्षा भन्न मिल्दैन।

मौसमविद् पोखरेलले प्रशान्त महासागरमा ‘एलनिनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेकाले नेपालको मनसुन आगमनमा प्रभाव परेको जानकारी दिनुभयो। यसको प्रभावका कारण दक्षिण एसियासहित नेपालको समग्र मनसुन नै कमजोर हुन सक्ने सम्भावनासमेत देखिएको छ।

नेपालको मौसम इतिहासलाई हेर्दा यसअघि सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, २००२, २००९, २०१६, २०१९ र २०२३ मा पनि मनसुन ढिला गरी प्रवेश भएको थियो।