काठमाडाैं। हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ।
त्यस्तै लुम्बिनी प्रदेशको पहाडी भू-भाग र मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रही देशका अन्य तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ।
यसै वायुको प्रभावका कारण आज कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा पनि मौसम बिग्रन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने अत्यधिक गर्मी अर्थात् तातो लहर (लु) चल्ने तथा बागमती र गण्डकीका तराई क्षेत्रमा पनि दिनभर तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।
आज रातिको मौसममा पनि कोशी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेश र अन्य पहाडी भू-भागमा आंशिक बदली हुनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा नै रहनेछ।
रातिको समयमा कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थान र बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना यथावत रहनेछ। विशेष गरी कोशी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा राति भारी वर्षाको समेत जोखिम रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


