+

देशभरकाे राजमार्गकाे अवस्था कस्ताे छ ?

५ असार २०८३, शुक्रबार १०:३४

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा असर परेको छ । नेपाल प्रहरीले आज बिहान ८ बजे जारी गरेको विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन आग्रह गरेको छ।

कोशी प्रदेशका तीन जिल्लामा बाढीका कारण सडक अवरुद्ध भएको छ, यद्यपि ती स्थानहरूमा हाल एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्।

मध्य पहाडी लोकमार्गको भोजपुर नगरपालिका–५, बोखिममा जेठ १२ गते आएको बाढीका कारण सडक एकतर्फी मात्र खुलेको छ। त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।

पाँचथर सोही राजमार्गको याङवरक गाउँपालिका–२, दोभानमा जेठ ८ गतेदेखि सडक एकतर्फी छ।

मेची राजमार्गको इलाम नगरपालिका–९, राजदुवालीमा आएको बाढीले गर्दा यातायात एकतर्फी रूपमा मात्र सुचारु छ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा जेठ २२ गतेदेखि नै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। जेठ १५ गतेदेखि सुरु भएको सडक मर्मत कार्यका लागि यो खण्ड एक महिनासम्मका लागि बन्द रहने जानकारी दिइएको छ।