+

एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

५ असार २०८३, शुक्रबार १४:२१

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।

एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका आठ लाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। एडीबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहर पानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ।

“नेपालमा तीव्र सहरीकरणका कारणले सहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गइरहेका छन्। जसले गर्दा धेरेजसो समुदायमा खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट बञ्चित भइरहेका छन्”, एडीबी नेपालका ‘कन्ट्री डाइरेक्टर’ आर्नाे कोश्वाले भने, “यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाइमा थप पहुँच अभिवृद्धि गर्ने आशा राखेका छौँ।”