+

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

५ असार २०८३, शुक्रबार १८:०९

बनियानी (झापा)। झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे१त ७४०४ नम्बरको ट्याक्टर एकापसमा ठोक्किँदा उक्त मानविय क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र समिरकी पाँच वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा लगिएकामा चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेको सूचना अधिकारी अवाले बताए।

गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ। ट्याक्टर चालक कनकाई नगरपालिका–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।