काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशका विभिन्न जिल्लाहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा धनुषाबाट सात जना रहेका छन् भने झापा, सप्तरी र कैलालीबाट तीन/तीन जना रहेका छन्।
त्यसैगरी इलामबाट दुई जना तथा मोरङ, उदयपुर, काठमाडौँ र सुनसरीबाट एक/एक जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र गाँजा बरामद गरेको छ र पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।


