+

नेदरल्यान्ड्सको स्विडेनमाथि ५-१ गोलको प्रभावशाली जित

७ असार २०८३, आईतवार ०७:१८

काठमाडाैं। जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५-१ को फराकिलो र सानदार जित दर्ता गरेको छ ।

अमेरिकाको ह्युस्टन रंगशालामा ६९ हजार दर्शकको उत्साहजनक उपस्थितिबीच शनिबार राति सम्पन्न खेलमा डच टोलीलाई जिताउन कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई–दुई गोलको योगदान दिए । यो सानदार जितसँगै मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको टोली नकआउट चरणको निकै नजिक पुगेको छ ।

पहिलो खेलमा जापानसँग बराबरी खेल्दै अंक बाँडेको नेदरल्यान्ड्सले अहिले दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थान ओगटेको छ । समान खेलबाट स्वीडेन ३ अंकसहित दोस्रो, जापान १ अंकसहित तेस्रो र ट्युनिसिया अंकविहीन रहँदै पुछारमा छन् ।

खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको नेदरल्यान्ड्सका लागि यसै खेलबाट पहिलो पटक सुरुआती ११ मा परेका सण्डरल्यान्डका २४ वर्षीय स्ट्राइकर ब्रायन ब्रोबी नायक बने । उनले खेलको पाँचौँ र १७ औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई खेलको सुरुवातमै बलियो स्थितिमा पुर्‍याए ।

तीन वर्षअघि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेयता देशका लागि मात्र एक गोल गरेका ब्रोबीले यस खेलमा आफ्नो शारीरिक शक्तिको भरपुर फाइदा उठाउँदै स्वीडेनी डिफेन्डरहरूलाई पूर्ण दबाबमा राखे ।

प्रिमियर लिगका स्टार खेलाडीहरूको बाहुल्यता रहेको यस खेलमा लिभरपुलका स्टार कोडी गाक्पोले दोस्रो हाफको सुरुवातमै लगातार दुई गोल थप्दै टोलीको अग्रता अझ फराकिलो बनाए । गाक्पोले खेलको पहिलो गोलका लागि ब्रोबीलाई पास समेत मिलाइदिएका थिए ।

खेलको एक घण्टा पुग्नै लाग्दा न्युकासल युनाइटेडका वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले स्वीडेनका लागि एक सान्त्वना गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन । खेलको अन्त्यतिर वेस्टह्यामका क्रिसेन्सियो समरभिलले अर्को एक गोल थपेपछि नेदरल्यान्ड्सको ५–१ को विशाल जित सुनिश्चित भयो ।

पराजित स्वीडेनले खेल अवधिभर गोलका थुप्रै राम्रा अवसरहरू सिर्जना गरे पनि डच गोलकिपरको उत्कृष्ट बचाउ र आफ्ना खेलाडीहरूको फितलो फिनिसिङका कारण थप गोल गर्न चुक्यो । पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले नै हराएर उच्च मनोबलमा रहेको स्वीडेनका महँगा र नाम चलेका स्ट्राइकरहरू अलेक्ज्याण्डर इसाक र भिक्टर ग्योकेरेस यस खेलमा भने डच डिफेन्ससामु पूर्ण रूपमा फिक्का देखिए ।

ह्युस्टनको ऐतिहासिक ‘आर्टेमिस २’ चन्द्र मिसनका दुई चालक दलका सदस्यहरू विशिष्ट अतिथिको रूपमा उपस्थित रहेको उक्त खेलमा डच राजा विलेम-अलेक्जेन्डर र सुन्तला रङको जर्सीमा सजिएका हजारौँ डच समर्थकहरू रंगशालामा आफ्नो टोलीको उत्साह बढाउन उपस्थित थिए, जसलाई टोलीले सानदार जितको उपहार सुम्पिएको छ ।