+

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा: विधान संशोधन र नयाँ नेतृत्व चयन मुख्य एजेन्डा

७ असार २०८३, आईतवार ०७:२५

भरतपुर (चितवन)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित, प्रविधिमैत्री र प्रतिनिधिमूलक बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापकीय काम सम्पन्न भइसकेको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

महाधिवेशनको भव्य उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनका लागि देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ भने आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालन जस्ता १८ वटा उपसमितिहरूले आफ्ना सम्पूर्ण जिम्मेवारी पूरा गरिसकेका छन्।

महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनहरू पारित गर्नुका साथै पार्टीको संगठनात्मक संरचनामा व्यापक परिवर्तन गर्ने गरी विधान संशोधन गरेको छ।

सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार पार्टीको बृहत् राजनीतिक समायोजनलाई मध्यनजर गर्दै अब केन्द्रीय समितिको आकार बढाएर १५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ, जसमा प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्।

नयाँ प्रस्तावित विधान अनुसार खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य समावेशिताका आधारमा पार्टी सभापतिले मनोनयन गर्नेछन्। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच-पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने बाध्यकारी व्यवस्था समेत विधानले गरेको छ।

यसपटक रास्वपाले आफ्नो पदाधिकारी संरचनामा महिला सहभागितालाई विशेष रूपमा सुनिश्चित गरेको छ। हालको विधानमा पदाधिकारीमा महिलाको उपस्थिति अनिवार्य नभए पनि संशोधित विधान अनुसार अब एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सहप्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष (एक महिला अनिवार्य) रहने व्यवस्था गरिएको छ। राजनीतिक समायोजनलाई सहज बनाउन एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्न सक्ने विषयमा समेत छलफल भएको छ।

प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउनेछ।

रास्वपाले निर्वाचनमा पाएको जनमतलाई पार्टीको मुख्य ‘आम्दानी’ का रूपमा व्याख्या गर्दै अब टोलस्तरमा समेत पार्टी संगठन विस्तार गर्ने तर परम्परागत राजनीतिक दलहरू जस्तो कुनै पनि भ्रातृ सङ्गठन नबनाउने नीतिलाई निरन्तरता दिएको छ।

महाधिवेशनमा कुल तीन हजार ९१८ प्रतिनिधिहरू सहभागी हुँदैछन्, जसमा ३०० जना प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ।

हालसम्म पाँच लाख पार्टी सदस्य पुर्‍याएको रास्वपाले देशभरका ६१० पालिका, चार हजार ६३ वडा तथा छ प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ भने मधेस प्रदेश र अधिवेशन हुन बाँकी रहेका १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएका छन्।