चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सरकार सञ्चालन र कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको मौलिक शैलीमा जवाफ दिएका छन् । उनले आफू नेतृत्वकाे सरकारकाे यात्रा ‘एक्सप्रेस वे’ मा दौडिरहेको गाडी जस्तै भएको बताएका छन् ।
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले आफ्नो उद्देश्य र गन्तव्य प्रस्ट रहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने स्पष्ट पारे ।
सम्बोधनको सुरुमा ‘नमस्ते’ गर्दै ठट्टाको शैलीमा “नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ” भन्दै उनले उपस्थित प्रतिनिधि र विशिष्ट अतिथिहरूलाई सम्बोधन गरे। रास्वपा सभापति रवि लामिछानेसहितको मञ्चमा उनले सानो महत्वाकांक्षा र देश बनाउने तीव्र हुटहुटीका कारण नयाँ राजनीतिक शक्तिहरूको उदय भएको उल्लेख गर्दै पार्टीलाई संस्थागत र स्थापित गर्ने कुरा अहिलेको आवश्यकता भएको बताए ।
विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपा र नयाँ शक्तिहरूको कार्यशैलीप्रति सङ्केत गर्दै ‘गाडीमा एक्सेलेटरसँगै ब्रेक पनि आवश्यक हुने’ भनी दिएको सल्लाह र चिन्ताप्रति बालेनले कडा जवाफ फर्काए। “धेरैले चिन्ता मान्नुभएको छ, सरकार भनेको गाडीजस्तो हो र यसमा ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ,” उनले भने, “त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ। तर हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो, यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।”
बालेन शाहले नयाँ पुस्तामा रहेको देश परिवर्तनको हुटहुटीलाई कसैले रोक्न नसक्ने सङ्केत गर्दै आफ्नो कार्यशैली गन्तव्यमुखी रहेको दाबी गरे। उनले रास्वपाको महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै नयाँ राजनीतिक शक्तिहरू देशको समृद्धिका लागि दृढ भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।


