+

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिँदै, दुई घण्टाभित्रै नतिजा आउने

१० असार २०८३, बुधबार ११:२४

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुने केन्द्रीय नेतृत्वको निर्वाचनमा ८० वटा विद्युतीय उपकरण (भोटिङ मेसिन) प्रयोग गरिने भएको छ।

निर्वाचनलाई प्रविधिमैत्री, छिटो र व्यवस्थित बनाउनका लागि ठुलो संख्यामा विद्युतीय उपकरण जडान गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भइसकेपछि ती उपकरणहरूमा उम्मेदवारको नाम र तस्बिर समावेश गरेर मतदान प्रक्रिया अगाडि बढाइने छ।

निर्वाचन टोली मध्याह्नदेखि नै पहिलो चरणको मतदान सुरु गर्ने लक्ष्यका साथ अन्तिम तयारीमा जुटेको छ। मतदाताहरूलाई प्रक्रिया सहज बनाउन र प्राविधिक ज्ञान दिलाउनका लागि नमुना मतदान (मकमोट) का निम्ति छुट्टै पाँच वटा उपकरण प्रयोग गरिने प्रमुख केसीले जानकारी दिए।

यस निर्वाचनमा विभिन्न क्लस्टर र खुलातर्फ गरी कुल ४०० भन्दा बढी आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न ‘क्लस्टर’गत समावेशी प्रतिनिधित्वका आधारमा समेत उम्मेदवार कायम गरिएकाले मतदाताहरूलाई छनोट गर्न केही अतिरिक्त समय लाग्न सक्ने अनुमान गरिएको छ।

पहिलो चरणको यस निर्वाचनमा कुल ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुन लागेको हो।

विद्युतीय माध्यमबाट मतदान हुने भएकाले मत गणना निकै छिटो हुने र मतदान कार्य पूर्ण रूपमा सम्पन्न भएको दुई घण्टाभित्रै आधिकारिक नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगका प्रमुख केसीले बताए।

यो प्रविधिले महाधिवेशनको निर्वाचन प्रणालीलाई थप पारदर्शी र परिणाममुखी बनाउने विश्वास लिइएको छ।