+

भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरको बन्ध्याकरण गर्ने

१० असार २०८३, बुधबार ११:४५

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानका लागि ठुलो चुनौती बनेको बाँदर आतङ्क नियन्त्रण गर्न अनौठो र दीर्घकालीन उपायस्वरूप बाँदरको बन्ध्याकरण गर्ने भएको छ।

संघीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी आवश्यक कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा आफ्नै क्षेत्रका बाँदरहरूको बन्ध्याकरण गर्ने प्रक्रिया अघि बढाएको हो।

गाउँपालिकाको मंगलबारदेखि सुरु भएको गाउँसभाको १९औँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

बाँदर किसानहरूको अत्यन्तै जटिल समस्याका रूपमा देखा परेकाले संघीय सरकारसँगको सहकार्यमा बन्ध्याकरणको तयारी थालिएको अध्यक्ष राईको भनाइ छ।

गाउँपालिकाका अनुसार बन्ध्याकरण विधि अपनाएर बाँदरको प्रजनन दर नियन्त्रण गरी यस समस्याको दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ। यस अभियानका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गरिनेछ।

यस कदमले पछिल्लो समय बढ्दै गएको मानव-वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणमा समेत ठुलो सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

गाउँपालिकाका विभिन्न वडाहरूमा पछिल्लो समय बाँदरको संख्या तीव्र रूपमा बढ्दै जाँदा किसानहरूले लगाएको मकै, कोदो, आलुलगायतका बालीनालीमा अपूरणीय क्षति पुगिरहेको छ।

यसरी बालीबिरुवा सखाप पारेर किसानलाई हैरान बनाएपछि बाँदरको संख्या नै नियन्त्रण गर्ने उद्देश्यले बन्ध्याकरणको नीति लिइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए। गाउँपालिकाले यस योजनालाई मूर्तरूप दिन पहिलो चरणको खोज, अनुसन्धान तथा अध्ययन कार्यका लागि पाँच लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ।