+

अनैतिक गतिविधिमा संलग्न २४ जना पक्राउ

११ असार २०८३, बिहीबार ०९:०६

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत पर्ने बजार क्षेत्रका विभिन्न होटल तथा लजहरूमा प्रहरीले विशेष अपरेसन चलाएर २४ जनालाई नियन्त्रणमा लिएको छ।

बजार क्षेत्रका केही होटल र लजहरूमा कानुन विपरीतका अनैतिक तथा शंकास्पद गतिविधिहरू भइरहेको भन्ने गोप्य सूचना र जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष टोलीले आकस्मिक जाँच (चेकजाँच) गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले दिएको जानकारी अनुसार विभिन्न होटल तथा लजहरूमा छापा मार्दा शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न रहेको अवस्थामा ११ जना महिला र १३ जना पुरुष गरी कुल २४ जनालाई नियन्त्रणमा लिइएको हो।

डीएसपी तिमिल्सिनाका अनुसार नियन्त्रणमा लिइएका १३ जना पुरुषहरूमध्ये सात जना भारतीय नागरिक रहेका छन्।

प्रहरीले बजार क्षेत्रको सुरक्षा संवेदनशीलता र सामाजिक मर्यादालाई मध्यनजर गर्दै यस्ता विकृतिजन्य क्रियाकलाप विरुद्ध निगरानी बढाउँदै आएको जनाएको छ।

हाल नियन्त्रणमा लिइएका सबै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीहरूको संलग्नता र कानुनी प्रक्रियाका बारेमा आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए।