काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनलाई प्राप्त कार्यादेश (म्यान्डेड) अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रूपमा कार्यसम्पादन भइरहेको बताएका छन्।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा उनले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी सरोकारवाला निकायहरूसँग पूर्ण समन्वयका साथ काम सुरु भइसकेको जानकारी दिए।
सीमा सुरक्षालाई विगतभन्दा थप व्यवस्थित बनाउने प्रयास भइरहेको उल्लेख गर्दै महानिरीक्षक पौडेलले सीमा अपराध नियन्त्रणका क्रममा जनशक्ति, प्रविधि र परिचालनको चुनौती भोग्नुपरे तापनि परिणाममुखी कामका लागि संगठन सधैँ कटिबद्ध रहेको प्रष्ट पारे।
सरकारको उच्च प्राथमिकतामा रहेको राजस्व चुहावट नियन्त्रणको लक्ष्य प्राप्तिका लागि सशस्त्र प्रहरी पूर्ण रूपमा परिचालित भएको उनले बताए। सशस्त्र प्रहरीसम्बन्धी नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढिरहेकाले यसबाट कानुनी र नीतिगत स्पष्टता आउने उनको विश्वास छ।
सरकारको मूल लक्ष्य आर्थिक सुशासन र पारदर्शिता रहेकाले संगठनभित्रका यस्ता गुनासाहरूलाई समयमै सम्बोधन गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरिएको उनले स्पष्ट पारे। आन्तरिक सुरक्षालाई मजबुद बनाउने गरी काम भइरहेको चर्चा गर्दै उनले अहिले नयाँ संरचनाहरू थप्नुभन्दा पनि भइरहेकै स्रोत-साधनबाट कसरी उत्कृष्ट नतिजा दिने भन्नेतर्फ ध्यान केन्द्रित गरिएको बताए।
संगठनका कार्य जिम्मेवारीलाई थप व्यवस्थित बनाउन पछिल्लो समय ‘नीति, अनुसन्धान तथा योजना निर्देशनालय’ गठन गरिएको जानकारी दिँदै महानिरीक्षक पौडेलले यसले भविष्यमा संगठनको विकास र विस्तारका विभिन्न आयाममा अनुसन्धान र योजना निर्माण गर्ने उद्देश्य राखेको बताए।
यसै गरी सीमा सुरक्षा तथा सीमा नाकालाई व्यवस्थित बनाउन मुख्य नाकाहरूमा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बिआइटी) संयन्त्र गठन गर्न लागिएको उनले खुलाए। यो अवधारणा अन्तिम चरणमा पुगेको र सुरुवाती चरणमा केही नाकाहरूमा ‘पायलट प्रोजेक्ट’ का रूपमा लागू गरिने तयारी छ।
यस संयन्त्रले सीमा नाकाबाट हुने दैनिक हजारौं सर्वसाधारणको आवतजावतलाई सहजीकरण गर्ने, सीमापारिका समकक्षी संगठनसँग समन्वय बढाउने तथा नाकामा हुने गलत र अवैध क्रियाकलाप नियन्त्रण गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने महानिरीक्षक पौडेलले उल्लेख गरे।


