+

सीमा विवाद: “ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतसँग वार्ता गर्न सरकार प्रतिबद्ध”

१७ असार २०८३, बुधबार १५:५४

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच गठित द्विपक्षीय प्राविधिक समितिले देशका धेरै भू–भागको सिमाङ्कन सम्बन्धी विषय टुङ्ग्याइसकेको दाबी गरेका छन् ।

राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खनालले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रबाहेकका अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले आजको दिनमा पनि काम गरिरहेको जानकारी दिए । विवादित भनिएका ती मुख्य क्षेत्रमा भने अझै प्राविधिक टोलीले सिमाङ्कन गर्न बाँकी रहेको उनले स्पष्ट पारे ।

मन्त्री खनालले भने, ‘ती क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सीमाङ्कन गरेको छैन । त्यो सत्य हो, त्यो तथ्य हो । तर हामी स्पष्ट छौँ, ती भू-भागहरू नेपालकै हुन् । हामीसँग ऐतिहासिक आधार, प्रमाण र नक्साहरू छन् ।’

मन्त्री खनालले नेपालसँग भएका ऐतिहासिक तथ्य र प्रमाणकै आधारमा द्विपक्षीय कूटनीतिक वार्तामार्फत् भारतसँग रहेको सीमा मतभेद टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताए ।