सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ । युद्ध थप तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय सङ्कटको सबैभन्दा ठूलो मारमा परिरहेका छन् ।
सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच जारी द्वन्द्व अहिले मुख्यतः कोर्डोफान, डार्फर र ब्लू नाइल राज्यमा केन्द्रित छ । युनिसेफका अनुसार हालका महिनामा ड्रोन युद्ध तीव्र बनेको छ र कुल हताहतमध्ये करिब ६० प्रतिशत घटना ड्रोन आक्रमणसँग सम्बन्धित छन् ।
रणनीतिक महत्त्वको उत्तर कोर्डोफानस्थित एल–ओबिड सहरको नियन्त्रणका लागि सेना र आरएसएफबीच चर्किएको लडाइँका क्रममा सम्भावित युद्ध अपराध र मानवअधिकार उल्लङ्घनबारे संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायतलगायत अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
यस युद्धमा हालसम्म कम्तीमा ५९ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब एक करोड ३० लाख नागरिक विस्थापित भएका छन् । द्वन्द्वका कारण सुडानका धेरै क्षेत्र अनिकालतर्फ धकेलिएका छन् र तीन करोडभन्दा बढी मानिस मानवीय सहायताको भरमा बाँच्न बाध्य छन् ।
ड्रोन आक्रमण र गोलाबारीका क्रममा विद्यालय, बजार, इन्धन भण्डारण केन्द्र तथा खानेपानीका संरचनासमेत निशाना बनाइएकाले पाँच लाखभन्दा बढी नागरिक प्रत्यक्ष जोखिममा परेका छन् । धेरै क्षेत्रमा सर्वसाधारणले एक वर्षभन्दा बढी समयदेखि घेराबन्दीजस्तै कठिन अवस्था सामना गरिरहेका छन् ।
सुडानका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले बालबालिका हिंसा, विस्थापन र अभावको अन्तहीन चक्रमा फसेको बताउँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे । संयुक्त राष्ट्रसङ्घले पनि द्वन्द्वरत पक्षहरूलाई नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न, मानवीय सहायता निर्बाध रूपमा पुग्ने वातावरण बनाउन र बालबालिकालाई थप क्षतिबाट जोगाउन सबै सम्भव उपाय अपनाउन आह्वान गरेको छ ।


