सुभा । अस्ट्रेलिया र फिजीले सोमबार रक्षा सहयोगसम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले भएको यो सम्झौतालाई चीनको बढ्दो क्षेत्रीय प्रभावको पृष्ठभूमिमा महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
‘ओसन अफ पिस’ नाम दिइएको सम्झौताअनुसार फिजी अस्ट्रेलियाका सीमित रक्षा साझेदार राष्ट्रहरूको सूचीमा समावेश भएको छ । सम्झौताले दुवै देशलाई पारस्परिक रक्षा तथा सुरक्षा सहकार्य विस्तार गर्न प्रतिबद्ध गराएको छ ।
सन् २०२२ मा चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि दक्षिण प्रशान्त क्षेत्रमा चीनको सम्भावित सैन्य उपस्थितिबारे चासो बढेको थियो । त्यसयता अस्ट्रेलियाले पपुवा न्यू गिनी, भानुआटु र टुभालुसँग पनि सुरक्षा तथा रक्षा सहकार्यसम्बन्धी सम्झौताहरू गर्दै आएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फिजीको राजधानी सुभामा फिजीका प्रधानमन्त्री सिटिभेनी राबुकासँग उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त सम्झौताले शान्त, समृद्ध र सुरक्षित दक्षिण प्रशान्त क्षेत्र निर्माण गर्ने दुवै देशको साझा प्रतिबद्धतालाई थप मजबुत बनाउने उल्लेख गरिएको छ ।


