+

महिलासामु अश्लील हर्कत गर्ने शिक्षा अधिकृत पक्राउ परेपछि गृहमन्त्रीले भने- अब अन्याय सहेर बस्नु पर्दैन

२२ असार २०८३, सोमबार २२:१०

काठमाडौं । सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गर्ने रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले पीडितको साहस प्रति सम्मान प्रकट गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले पीडितले आफ्नो पीडा पुष्टि गर्न सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु आफैँमा चिन्ताको विषय भएको बताएका छन्।

ललितपुरको इमाडोलमा घटेको घटनाको भिडियो सार्वजनिक गर्ने पीडित ऋतु खनालप्रति सम्मान व्यक्त गर्दै गृहमन्त्री गुरुङले लेखेका छन्, ‘ऋतु खनालज्यूले सार्वजनिक गर्नुभएको आफूमाथि भएको दुर्व्यवहार सम्बन्धी भिडियोप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ र उक्त व्यक्तिलाई पक्राउ समेत गरिसकेको जानकारी गराउँछु। ऋतु जीको साहसप्रति हाम्रो सम्मान छ।’

कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य नहुने भन्दै उनले दोषी जोसुकै भए पनि कानुनको कठघरामा उभ्याउने दृढता व्यक्त गरेका छन्।

उनले सम्पूर्ण पीडितहरूलाई अन्याय सहेर नबस्न र ढुक्क भएर आवाज उठाउन आग्रह समेत गरेका छन्। यस्ता संवेदनशील घटनाको उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासोलाई बेवास्ता गर्ने प्रहरी अधिकारीमाथि कारबाही हुने चेतावनी समेत गृहमन्त्रीले दिएका छन्।

‘यदि कुनै कारणले उजुरी दर्ता गर्न असहजता वा समस्या सिर्जना गरिन्छ भने सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयलाई समेत जानकारी गराउन सक्नुहुन्छ,’ उनले अगाडि लेखेका छन्, ‘यस्ता घटनाको उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति पनि स्वीकार्य हुनेछैन।’

ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलासामु आफ्नो गुप्त अङ्ग प्रदर्शन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृत ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बैतडीको पाटन नगरपालिका–७ घर भई हाल इमाडोल बस्दै आएका भट्टलाई ललितपुर जिल्ला प्रहरी परिसर मातहतको प्रहरी वृत्त सातदोबाटोको टोलीले नियन्त्रणमा लिएको हो।