+

गृहमन्त्रीको कार्यशैलीमाथि ज्ञानेन्द्र शाहीको प्रश्न: ‘तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?’

२६ असार २०८३, शुक्रबार १६:०४

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले नागरिकबाट चर्को कर उठाए पनि त्यसअनुसार आधारभूत सेवा र सुविधा दिन नसकेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले देशको वर्तमान कर प्रणाली र सरकारको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएका छन्।

संसद्‍मा बोल्दै उनले आजका सामान्य नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्ने गरेको भए पनि राज्यले त्यसको बदलामा शिक्षा, स्वास्थ्य, सडक र पार्किङजस्ता न्यूनतम सुविधाहरू समेत उपलब्ध गराउन नसकेको आरोप लगाए।

कर तिरेबापत नागरिकले सहज जीवनयापन र राज्यको संरक्षण पाउनुपर्नेमा अहिले उल्टै दुःख, चरम निराशा र आत्महत्याको बाटो रोज्नुपर्ने भयावह अवस्था सिर्जना भइरहेको उनको टिप्पणी थियो। त्रिपुरेश्वरमा घटेको गणेश नेपालीको आत्मदाहको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले राज्यको लचरता र कमजोरीकै कारण देशमा यस्ता कहालीलाग्दा परिस्थितिहरू आइलागेको दाबी गरे।

भाषणका क्रममा सांसद शाहीले गृहमन्त्रीको कार्यशैली र प्राथमिकतामाथि पनि कडा प्रहार गरे। गृहमन्त्रीले जनताको जीउज्यान जोगाउने र शान्ति सुरक्षा अमनचयन कायम गर्नेभन्दा पनि सस्तो मिडियाबाजी र प्रचारप्रसारमा बढी ध्यान दिएको उनको आरोप थियो।

“तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? हिजो गृहमन्त्री चलचित्रको नायकजस्तो मिडिया घेरेर कहिले विमानस्थल, कहिले कता दौडिरहनुभएको थियो,” उनले प्रश्न गरे।

गृहमन्त्रीको मुख्य जिम्मेवारी भिडियो बनाउने वा चर्चा कमाउने नभई नागरिकको जीवन रक्षा गर्नु हुनुपर्ने उल्लेख गर्दै शाहीले संसद्‍मा भने, “हामीलाई गृहमन्त्रीले कति वटा भिडियो बनाउनुभयो वा कति युट्युब चलाउनुभयो भन्ने कुरासँग कुनै मतलब छैन, महत्वपूर्ण कुरा त गृहमन्त्रीको आदेश र नीतिबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो।”