काठमाडौं । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधनकतारका पूर्व अमिर (राष्ट्राध्यक्ष) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ।
कतारको राजकीय अदालत ‘अमिरी दिवान’ ले एक आधिकारिक विज्ञप्ति जारी गर्दै आइतबार (१२ जुलाई २०२६) बिहान उनको निधन भएको पुष्टि गरेको हो। अमिरी दिवानले जारी गरेको शोक वक्तव्यमा पूर्व अमिरलाई राष्ट्रका एक महान् नेताको रूपमा स्मरण गर्दै उनको निधनले देशलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।
कतारमा उनलाई “फादर अमिर” (पिता अमिर) को सम्मानजनक उपाधि दिइएको थियो। सन् १९९५ देखि २०१३ सम्म कतारको बागडोर सम्हालेका शेख हमदलाई आधुनिक कतारको मुख्य निर्माता मानिन्छ।
उनकै १८ वर्ष लामो शासनकालमा कतारले तरल प्राकृतिक ग्यास (एलएनजी) उद्योगको व्यापक विस्तार गर्दै अभूतपूर्व आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण हासिल गरेको थियो। उनले नै विश्वप्रसिद्ध सञ्चारमाध्यम ‘अल जजिरा’ नेटवर्कको स्थापना गर्नुका साथै कतारलाई अन्तर्राष्ट्रिय कूटनीति, लगानी र खेलकुदको विश्वव्यापी केन्द्र बनाएका थिए ।
सन् २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने ऐतिहासिक अधिकार प्राप्त गर्नुमा पनि उनको दूरदर्शी नेतृत्वको ठुलो योगदान रहेको थियो।
राजनीतिक क्षेत्रमा नयाँ परम्परा स्थापित गर्दै शेख हमदले सन् २०१३ मा स्वेच्छाले सत्ता त्याग गरी आफ्ना पुत्र तथा वर्तमान अमिर शेख तमिम बिन खलिफा अल थानीलाई सत्ता हस्तान्तरण गरेका थिए ।
उनको निधनप्रति कतारका नागरिकका साथै विश्वभरका विभिन्न देशका नेताहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।


