काठमाडौं । आत्मदाहको घटनापछि चर्चामा रहेको मुगुका गणेश नेपालीको परिवारलाई तत्काल राहत दिने प्रक्रिया सुरु भएको छ। सोही क्रममा गृहमन्त्री सुदन गुरुङले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंमै पुगेर मृतक गणेश नेपालीकी श्रीमतीलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
गृहमन्त्री स्वयं उपस्थित भई नागरिकता हस्तान्तरण गरेको यस घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। नागरिकता प्राप्त गरेसँगै अब पीडित परिवारलाई अन्य कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।
यसअघि सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच भएको ९ बुँदे सहमति अनुसार नै परिवारलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउने कार्य अघि बढाइएको हो।
घटनाप्रति विभिन्न कोणबाट प्रतिक्रिया आइरहेका छन् भने गणेश नेपालीको आत्मदाह प्रकरणको निष्पक्ष अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।


