गोलबजार (सिरहा)। सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन्। रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका उनीहरु गोलबजार–७ मा डेरा गरी बस्दैआएका थिए। कवाडी सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका तीनै जना आज दिउँसो घरबाट खेल्न निस्किएका थिए।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


