काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई चौतर्फी रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गरेका छन्।
प्रदेश सरकारहरूमा नेपाली कांग्रेसले साथ छाडेको पछिल्लो राजनीतिक परिस्थितिलाई लक्षित गर्दै उनले एमालेविरुद्ध घेराबन्दी गर्ने प्रयासहरू निरन्तर अगाडि बढिरहेको बताएका हुन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक उतारचढाव र चुनौतीहरूबाट पार्टी कत्ति पनि विचलित नहुने प्रष्ट पारे।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमाले कसैको वैशाखी वा सहारामा मात्रै अघि बढ्ने कमजोर शक्ति नभएको जिकिर गरे। एमाले अर्को रुखलाई नसमाती उठ्नै नसक्ने लहरो वा त्यान्द्रो नभएको उल्लेख गर्दै उनले यसलाई आफैं उम्रिएको र हुर्किएको एउटा स्वतन्त्र, दह्रो, मजबुत र विशाल वृक्षको संज्ञा दिए।
विगतमा पनि अनेकौं आँधीहुरी, तुफान र राजनीतिक बाढीको दृढतापूर्वक सामना गरेर यहाँसम्म आइपुगेकाले कसैले एक्ल्याउँदैमा पार्टी कमजोर नहुने उनको भनाइ थियो।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले पार्टीलाई केही धक्का लागेको स्वीकार गर्दै अध्यक्ष ओलीले धक्का लाग्दैमा एमाले नसकिने स्पष्ट पारे। उनले पार्टी आफ्नै खुट्टामा उभिएर हरेक चुनौतीको डटेर सामना गर्न सक्षम रहेको र फेरि आफ्नै बुतामा नवीकृत हुँदै अझ सशक्त रूपमा अगाडि बढ्ने दृढता व्यक्त गरे।
एमाले अनुकूल परिस्थिति आउँदा हौसिने र प्रतिकूल परिस्थिति आउँदा निराश हुने वा आत्तिने पार्टी नभएकाले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न उनले आह्वान गरे।


