+

अवैध व्यापार र न्यून गुणस्तरका सामान बिक्री गर्नेलाई वाणिज्य विभागको कडा चेतावनी

४ श्रावण २०८३, सोमबार १५:१९

काठमाडौं। बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी-पैठारी गरिएका सामानहरूको बिक्री-वितरण बढेको भन्दै सरकारले कडा कानुनी कारबाहीको चेतावनी दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।

विभिन्न भौतिक बजारका साथै डिजिटल (अनलाइन) प्लेटफर्ममार्फत समेत दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तु, पेय पदार्थ र लत्ताकपडाहरू अवैध रूपमा बिक्री भइरहेको भनी प्राप्त उजुरी र जनगुनासोप्रति मन्त्रालय र विभागको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

विभागद्वारा जारी सूचनामा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ एवं ‘नियमावली, २०७६’ बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको स्मरण गराउँदै कानुनविपरीत गरिने मिसावट, चोरी-पैठारी र कम गुणस्तरका सामान बिक्री गर्ने जस्ता कार्यहरू पूर्ण रूपमा दण्डनीय र अक्षम्य रहेको उल्लेख गरिएको छ।

मन्त्रालयको बजार स्वच्छता कायम गर्ने नीतिअनुरूप विभागले उत्पादन, पैठारी, ढुवानी, सञ्चय र बिक्री-वितरणमा संलग्न सबै व्यवसायीहरूलाई कानुनले तोकेबमोजिमको दायित्व, सर्त र बन्देजहरू पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्ने जुनसुकै व्यवसायीलाई पनि कानुनबमोजिम हदैसम्मको कडा कारबाही गरिने चेतावनी दिँदै आगामी दिनमा बजार अनुगमनलाई अझ तीव्र र प्रभावकारी बनाइने विभागले जनाएको छ।