+

कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष

६ श्रावण २०८३, बुधबार १४:३५

काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए ।

मंगलबार बिहान ११ बजेर २० मिनेटमा श्रेष्ठ आफैँले चलाएर बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा पुगेका थिए । सडकबाट केही पर खाली जग्गामा गाडी पार्किङ गरेपछि कारभित्रैबाट आगो सल्किएको प्रत्यक्षदर्शीहरुले देखेका थिए ।

घटनास्थल नजिकै रहेका एक जना युवकले आगो लागेको देखेपछि दौडिँदै गएर कारको अगाडि पट्टिको ढोका खोलेको सिसिटिभी फुटेजमा देखिएको छ । चालक सिटसँगैको ढोका खोल्दा उनको समेत हातमा पोलेपछि उनी फर्किएको फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र कीर्तिपुर वृत्तले गरेको अनुसन्धानबाट सुरेशचन्द्र आफैँले आत्मदाह गरेको खुलेको हो । कार चालक श्रेष्ठ आफैँले आगो लगाएर आत्मदाह गरेको अनुसन्धानको निष्कर्ष छ ।

घटनास्थलमा पुगेका प्रहरीले आगो निभाउने प्रविधिको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिँदा श्रेष्ठ चालक सिटमा मृत अवस्थामा भेटिएका थिए । ७० वर्षीय श्रेष्ठ औषधी व्यवसायी हुन् ।