+

स्वास्थ्य क्षेत्रको निजीकरण रोक्न ७ बुँदे मागसहित डा. गोविन्द केसी धनगढीमा सत्याग्रह बस्दै

७ श्रावण २०८३, बिहीबार ०९:१६

धनगढी। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै पटक-पटक आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले बिहीबारदेखि धनगढीबाट पुन: सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।

स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्न खोजिएको आरोप लगाउँदै उनले ७ बुँदे मागसहित धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गर्न लागेका हुन्।

सरकारले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा निजी मेडिकल कलेजमा लगानी भएका व्यक्तिहरूलाई उपकुलपति र रजिष्ट्रार नियुक्त गरेर स्वास्थ्य क्षेत्रलाई ध्वस्त पार्न खोजेको डा. केसीको भनाइ छ।

सरकारले गत असार ३१ गते उक्त विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. भीमबहादुर चन्दलाई नियुक्त गरेको थियो।

ऐन निर्माण भइसकेकाले विश्वविद्यालय स्थापनामा आफ्नो कुनै विरोध नरहेको स्पष्ट पार्दै डा. केसीले स्वार्थ बाझिने वर्तमान उपकुलपति र रजिष्ट्रारको नियुक्ति तत्काल खारेज गरी मेडिकल क्षेत्र बुझेका निष्पक्ष र अनुभवी व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने माग गरेका छन्।

यसका साथै डा. केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज हुनुपर्ने माग अघि सारेका छन्।

चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउन कानुनका प्रावधानहरू कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू पालना हुनुपर्ने र सीमावर्ती तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गरिनुपर्ने उनका अन्य माग छन्।

साथै, भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि उनले राखेका छन्।

सत्याग्रहका लागि यसअघि दार्चुलाको ब्यास क्षेत्र जाने तयारी गरेका डा. केसीले भारतीय सुरक्षा निकायले मागे अनुसार अनुमति नदिएका कारण धनगढी फर्कनुपरेको बताए।

भौगोलिक कठिनाइका कारण नेपाली भूमिबाट जान नसकिने र भारतीय बाटो प्रयोगका लागि केवल पाँच दिनको मात्र अनुमति पाएपछि दार्चुलामा केही दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी आफू धनगढी फर्केर सत्याग्रह बस्न बाध्य भएको उनले जानकारी दिए।