+

इरानमाथिको सम्भावित सैन्य हमला रोक्ने ट्रम्पको घोषणा

१७ श्रावण २०८३, आईतवार १२:२४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हुन सक्ने सम्भावित सैन्य कारबाही रोक्ने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यस निर्णयको जानकारी दिएका हुन्।

यसअघि समाचार वेबसाइट ‘एक्सियोस’ ले प्रकाशित गरेको रिपोर्टअनुसार साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोनमा संवाद गरेका थिए। कुराकानीका क्रममा क्राउन प्रिन्सले इरानविरुद्धको सम्भावित सैन्य कदमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्न विशेष अपिल गरेका थिए।

समाचार विवरणअनुसार अमेरिका र इरानबीच चर्कँदै गएको युद्धको वातावरणलाई रोक्न साउदी अरेबियाका साथै कतार, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र पाकिस्तान पनि निरन्तर कूटनीतिक प्रयासमा जुटेका थिए। राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै इरान र मध्यपूर्वका अन्य देशहरूका तर्फबाट सम्भावित सैन्य आक्रमणहरू रोक्न आग्रह आएको दाबी गरेका छन्।

तनाव कम गर्ने बहुपक्षीय प्रयासअन्तर्गत कतारका मध्यस्थकर्ताहरूले शनिबार इरानी विदेशमन्त्री अब्बास अरागची, ट्रम्पका विशेष दूत स्टेभ विटकोफ र ओमानका उच्च अधिकारीहरूसँग बेग्लाबेग्लै गहन छलफल गरेका थिए।

आयोजित कूटनीतिक बैठकहरूमा विश्वव्यापी इन्धन आपूर्तिको प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ लाई पुनः सञ्चालनमा ल्याउने र यातायात सहज बनाउनेसम्बन्धी सम्भावित सम्झौतामा गहन छलफल भएको थियो।

राष्ट्रपति ट्रम्पले पनि प्रस्तावित सम्झौतामा कुनै पनि किसिमको अवरोधविना ‘स्ट्रेट अफ होर्मुज’ लाई व्यापारिक र समुद्री आवागमनका लागि पूर्ण रूपमा खुला गर्ने विषय समावेश गरिएको दाबी गरेका छन्। यस कदमले मध्यपूर्वमा मडारिँदै गएको ठूलो युद्धको बादल हट्ने र विश्वव्यापी ऊर्जा बजारमा राहत पुग्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट