No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि ‘कू’को प्रयास गरेको आरोप

0

पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गतवर्ष ’कूको प्रयासमा’ त्यहाँको संसद् भवनमा हिंसा गराएको आरोप लगाइएको छ । एउटा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको संसदीय सुनुवाइका क्रममा ट्रम्पमाथि यस्तो आरोप लगाइएको हो । रिपब्लिकन लिज चेनीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणको आगो सल्काएको बताएकी छन् ।

संसदीय छानबिन समितिका प्रमुख समेत रहेका डेमोक्रेट बेनी थम्सनले उक्त दङ्गाले अमेरिकाको संवैधानिक लोकतन्त्रलाई जोखिममा पारेको बताएका छन् । सन् २०२१ को जनवरीमा मच्चाइएको हिंसाबारे त्यहाँको तल्लो सदनको छानबिन समितिले गरेको पहिलो सार्वजनिक सुनुवाइसँगै उक्त घटना छानबिनको नयाँ चरण सुरु भएको बताइएको छ ।

निर्वाचनमा हार बेहोरेका भए पनि तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले मत परिणाम नस्वीकार्ने बताएपछि उनका समर्थकहरूले त्यसबेला अमेरिकी संसद्मा हुलदङ्गा गरेका थिए । त्यसक्रममा केही व्यक्तिहरूको ज्यान गएको थियो भने पछि दङ्गामा संलग्न कैयौँलाई फौजदारी अभियोग पनि लगाइएको थियो ।

त्यस घटनामा मस्तिष्कमा चोट लागेकी एक महिला प्रहरी अधिकृत र अति दक्षिणपन्थीहरूको छायाङ्कन गरेका एक ब्रिटिश वृत्तचित्र निर्माताले सुनुवाइमा आक्रमणको प्रमाण दिने बताइएको छ । उक्त समिति ट्रम्पको सबैभन्दा नजिकका सदस्यहरूसँग लिइएको बयानमा पनि केन्द्रित हुनेछ । घटनामा संलग्न भएको आरोपमा बिहीवार एफबीआईले मिशिगनका गभर्नर पदका उम्मेदवारलाई गिरफ्तार गरेको थियो ।

प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार ०२:५७

Leave a Reply