No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गुल्मीमै अक्सिजन उत्पादनले बिरामीलाई राहत

0

रेसुङ्गा । विगत एक वर्षदेखि गुल्मी अस्पतालले प्लान्टको स्थापना गरेर अक्सिजन उत्पादन गर्दै आएको छ । कोरोना महामारीको समयमा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपरेपछि नेपाल पत्रकार महासङ्घ गुल्मी, जिल्ला उद्योग वाणिज्य सङ्घ गुल्मी र नेपाल सरकारसमेतको पहल तथा सक्रियतामा प्लान्टको स्थापना भएको थियो ।

गुल्मी अस्पतालमा एक वर्षअघिसम्म बुटवलबाट सिलिण्डरमा अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता थियो । गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले पहिला अक्सिजन बाहिरबाट ल्याउँदा ढुवानीको समस्या र धेरै बिरामी भर्ना गर्न नसकिने समस्या हुने गरेको सम्झिए । कोरोना महामारीको समयमा सङ्घसंस्था र सरकारको सहयोगबाट जिल्लामै अक्सिजन उत्पादन हुँदा बिरामीलाई राहत भएको छ । विसं २०७८ मङ्सिरबाट अक्सिजनको उत्पादन हुन थालेको हो ।

अस्पतालमा अहिले दैनिक ४० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । एक सिलिण्डरमा छ हजार पाँच सय लिटर अक्सिजन हुन्छ । अक्सिजन साना, मझौला र ठूला गरी तीन तहका सिलिण्डरमा भरिन्छ । सानो पाँच सय, मझौला एक हजार र ठूलो एक हजार दुई सयमा बिक्री गरिन्छ । तर अस्पतालले सेवामूलक तरिकाले मात्र अक्सिजन उत्पादन गर्दै आएको छ ।

खपत कम हुँदै गएपछि अस्पतालले हप्तामा सोमबार र बिहीबारमात्र उत्पादन गरेको छ । पचास जना बिरामीलाई अहिले पनि एकैपटक मुटु र फोक्सोको दमसम्बन्धी उपचार गर्न सकिने अस्पतालका डा पच्याले जानकारी दिए ।

“सेवामूलकरूपमा अक्सिजनको उत्पादन गरेका छौँ”, उनी भन्छन्, “सामाजिक सङ्घसंस्थाको अगुवाइबाट निर्माण भएपछि धेरै राहत भएको छ”, उनले भने । अस्पतालले अब सघन उपचार कक्ष (आइसीयू) सञ्चालन गर्नेछ ।

जिल्ला उद्योग वाणिज्य सङ्घले सबै व्यवसायीबाट सहयोग उठाएर अक्सिजन प्लान्टका लागि भवन निर्माण गरिदिएको छ । कुल १४ लाख ४६ हजारमा सङ्घले भवन बनाएको अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए । “महामारीको समयमा जनताप्रति उत्तरदायी भएर सहयोग उठाएका हौँ”, पौडेलले भने ।

अक्सिजन प्लान्ट बन्नुमा सुरुमा नेपाल पत्रकार महासङ्घको सक्रियतामा सहयोग उठाउनु हो । महासङ्घले कुल ५० लाख प्लान्ट निर्माणमा मात्र सहयोग गरेको थियो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले महामारी मात्र नभई अन्य समयमा पनि बिरामीलाई अक्सिजन अभाव नहोस् भनेर अभियान थालेको बताए ।

“महामारीको समयमा अक्सिजन अभाव हुँदा गुल्मेली तड्पनुपरेको थियो”, उनी भन्छन् “अभियानले सार्थकता पाउँदा गुल्मेली पत्रकार खुसी छौंँ” महासङ्घले अक्सिजन प्लान्ट निर्माण, अन्य स्वास्थ्य सामग्री सहयोग र प्लान्ट बन्नुभन्दा पहिला बुटवलमा सिलिण्डर भर्ने कार्यमा पनि सहयोग गरिएको थियो ।

अक्सिजन प्लान्टको मेसिन खरिदमा एक करोड ३१ लाख र भवन निर्माणमा १४ लाख ४६ हजार खर्च भएको छ । जसमा नेपाल सरकारको एक करोड, पत्रकार महासङ्घको ५० लाख र वाणिज्य सङ्घको १४ लाख ४६ हजार खर्च भएको हो ।

केही रकम बचतसमेत भएको छ । अक्सिजन प्लान्टको उद्घाटन तत्कालीन सांसद प्रदीपकुमार ज्ञवालीले गरेका थिए ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सिङ्गो जिल्लावासीको प्रयत्नबाट अक्सिजन उत्पादन गर्न सफल भएको बताए । “सरकार र नागरिकको सहकार्यको उत्तम नमूना अक्सिजन प्लान्ट हो”, उनी भन्छन्, “अक्सिजनमा जिल्ला आत्मनिर्भर बनेजस्तै अन्य उत्पादनमूलक र सेवामूलक क्षेत्रमा पनि सहकार्यबाट अगाडि बढ्नुपर्छ”, उनले भने ।

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार १५:३७

Leave a Reply