No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रदेश एक सरकारलाई विश्वासको मत प्राप्त

0

विराटनगर।  प्रदेश एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा(४) तथा प्रदेश एकको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री कार्कीले शुक्रबार सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो । कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित रहे ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सवलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताए । उनले गत निर्वाचनमा आम मतदाताले कुनै पनि राजनीतिक दललाई बहुमत नदिएको अवस्थामा मिलेर अघि बढ्न राजनीतिक दललाई आग्रह गर्दै विश्वासको मत मागेका थिए ।

मुख्यमन्त्री कार्कीले संविधानको कार्यान्वयन र जनताको जनादेशलाई सम्मान गर्न सबै राजनीतिक दललाई आग्रह गरे । उनले भने, “मिलेर देश बनाऔँ ।” उनले प्रदेश संरचनालाई स्थायी बनाउन दायित्व थपिएको भन्दै सङ्घीयताको विषयमा भइरहेको नकारात्मक टिप्पणीलाई सकारात्मक बनाउन हरसम्भव प्रयास गर्ने बताए।

सत्ता साझेदार राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नयाँ सरकारको प्रशस्त संभावन, अवसर र चुनौती रहेकाले सुझबुझका साथ काम गर्न आग्रह गरे ।

उनले आफ्नो दलको तर्फबाट सरकारलाई पूर्णसमर्थन रहेको जनाउँदै सरकारलाई मितव्ययी हुन र भ्रष्टाचारमा शून्य सहनशीलता हुन आग्रह गरे ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजनीतिमा कोही कसैको शत्रु र मित्र नरहने भन्दै आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने बताए ।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार १४:०५

Leave a Reply