No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चलचित्रमा पात्र चयन कसरी हुन्छ ?

0

काठमाडौँ । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनै भूमिकाले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् ।

गत आइतबार साँझ नेपाली कलाकारसँग अन्तक्र्रिया गरेका भारतीय निर्देशक, कलाकार तथा कथाकार डाक्टर चन्द्रप्रकाश द्विवेदीले भारतमा एकै एजेन्सीले लाखौँ कलाकारलाई अनुबन्धित गरेर काम दिइरहेको जानकारी दिए ।

“मैले पछिल्लो चलचित्र ‘सम्राट पृथ्वीराज’मा काम गर्दा सम्झौता गरेको एजेन्सीसँग १५ लाख बढी कलाकार थिए । त्यसैले भूमिकामा छनोट हुन सोचेजस्तो सहज छैन”, निर्देशक द्विवेदीले भने, “यद्यपि केही समययता ओटिटीका लागि बन्ने चलचित्र र शृङ्खलाले ती कलाकारको काम पर्दासम्म ल्याउन मद्दत गरेको छ ।”

भारतझैँ नेपालमा चलचित्रका लागि कलाकार छनोट गर्ने एजेन्सी छैन । पात्रअनुसार कलाकार छनोट गर्ने प्रचलन केही समययता नबढेको होइन । यद्यपि ती बजारमार्फत निर्देशित छन् । अभिनेता सुनिल थापाको ‘राते काइँला’, राजेश हमालको ‘शङ्कर’, सौगात मल्लको ‘हाकु काले’, दयाहाङ राईको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छन् ।

कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । अहिले पात्रअनुसार कलाकार छान्न निर्देशक राख्ने क्रम बढिरहेको छ । चलचित्रको भाषामा उनीहरूलाई ‘कास्टिङ डिरेक्टर’ भनिन्छ ।

नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताए । “सुरुवाती समयमा निर्देशक बन्न केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार डिमान्ड गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ”, निर्देशक राउतले भने, “पछिल्लो दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’ मा भने भूमिका सुहाउँदो कलाकारको अडिसन लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौँ ।”

निर्देशनको प्रारम्म्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उनले सबै काम आफैँ गर्थे । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक राख्न थालेका छन् । उनले पछिल्लो चलचित्र ‘प्रकाश’ मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिएका थिए । केही चलचित्रमा पात्र छनोट वा भनौँ निर्देशन गरेका रङ्गकर्मी केदार श्रेष्ठले विशेषतः स–साना पात्रका लागि मात्र निर्देशक आइपुग्ने अनुभव सुनाए ।

“मुख्य पात्रका लागि कलाकार छनोट भएपछि सहायक र साना पात्र खोज्दै आउनेको सङ्ख्या बढी छ । उहाँहरूसँग चरित्रबारे स्पष्टता पनि कम पाएको छु तर केही पूर्णरूपमा बुझेर पात्र छनोटको जिम्मेवारी नै दिन समेत आउनुहुन्छ”, रङ्गकर्मी केदार श्रेष्ठले भने ।

अभिनेत्री लक्ष्मी बर्देवाले कथापछि पात्र र त्यसको चयन चलचित्रमा महत्त्वपूर्ण हुने बताइन् । “म अडिसन दिन पुग्छु । हामी कहाँ काम नपाउँदासम्म अडिसन दिने र त्यसपछि नदिने चलन छ । तर हामीले आफू सुहाउँदो भूमिका भए अडिसन दिँदा फरक पर्दैन”, अभिनेत्री बर्देवाले भनिन् “नेपाली चलचित्रमा अडिसन गर्दा बजारलाई हेरेर निर्देशित हुने सङ्ख्या धेरै छ । प्रक्रियागत रूपमा पूरा नहुँदासम्म धेरै कलाकार अडिसन दिन तयार देखिनु हुन्न ।”

रङ्गकर्मी श्रेष्ठले निर्माताको दृिष्टकोणअनुसार बजार हेर्नु स्वाभाविक भए पनि पात्र छनोटको प्रक्रिया विस्तारै सही दिशामा अगाडि बढेको बताए । उनले भने, “अहिले ध्वनि, प्रोडक्सन डिजाइन, कला डिजाइनलगायतको विधामा निर्देशकले जानकार राखेर काम गर्नुहुन्छ । यो सुखद् पक्ष हो । परिवर्तन हुँदैछ ।”

निर्देशक राउतले बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए । “कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो तर हामी बजारको निर्देशन भन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकि सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ”, निर्देशक राउतले भने, “व्यावसायिक पाटोलाई विशेष महत्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन् ।”

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्पूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुनेगरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्व निकै कम छ ।

प्रकाशित: २२ चैत्र २०७९, बुधबार १५:२०

Leave a Reply